प्रत्यागमन

अभ्यास

तलका प्रश्नको छोटो उत्तर लेख्नुहोस्:

  • शोभा र दुलही बज्यैका बीच के कस्ता चारित्रिक अन्तरहरू देखिन्छन् ?
  • आदर्शोन्मुख यथार्थवादी कथाकार गुरुप्रसाद मैनाली (वि.सं. १९५७-२०२८) द्वारा रचित प्रत्यागमन कथाका पात्रहरू शोभा र दुलही बज्यै हुन् । फरक फरक आर्थिक र सामाजिक पृष्ठभूमिमा हुर्किएका यी दुवै पात्रका व्यवहार र संस्कारगत चरित्रमा धेरै नै अन्तर देखिन्छन्। शोभामा समयको बोध छ । कर्तव्य र दायित्वको जिम्मेवारीपन छ । दुःखको सामना गर्न सक्ने सामर्थ्य छ । विष पिएर अमृत जन्माउने धैर्यता छ । पितृमातृहीन शिशुहरूलाई बाँड्न पुग्ने मातृत्वको भाव छ । सेवा गर्ने जाँगर र आँट छ । आदर र विनयको व्यवहार छ । यी अलौकिक गुणयुक्त आदर्श नारी शोभाले परिवारलाई जोड्ने र एकतावद्ध बनाइराख्ने प्रयास गरेको कथाको घटना वर्णनले प्रस्ट पारेको छ।

    उता दुलही बज्यैमा सम्पत्तिको अहङ्कार छ । व्यवहारमा आदर र विनयको भाव छैन । उनमा परिवारप्रतिको कर्तव्य र दायित्वबोध पटक्कै देखिंदैन । उनी अल्छी स्वभावकी छिन् । श्रीमान् विरामी भएर थलिँदासमेत दक्षिणकालीको यात्रामा जानुले उनी कर्तव्यपरायण नारी होइनन् भन्ने पुष्टि हुन्छ । कथामा वर्णित उनको व्यवहारले परिवारमा फुट र विग्रह ल्याउने काम गरेको छ । अतः वैयक्तिक व्यवहार, सामाजिक धरातल, आर्थिक असमानता, घरपरिवारबाट पाएको संस्कार आदिमा शोभा र दुलही बज्यैका बीच चारित्रिक अन्तरहरू देखिन्छन् ।

  • प्रत्यागमन कथाको मुख्य आशय के हो ?
  • (निम्न लिखित बुँदालाई अनुच्छेदमा मिलाएर लेख्नुपर्ने:)

    • 'प्रत्यागमन' गुरुप्रसाद मैनालीको एक चर्चित कथा,
    • पारिवारिक विषयमा आधारित भएर नेपाली समाजका समस्यालाई उजागर गरेको,
    • परिवारका सदस्यहरूबीच सधैं मेलमिलाप र सद्भाव कायम हुनुपर्ने,
    • सानातिना कुरामा विवाद नगरी फराकिलो हृदय पार्नुपर्ने,
    • धनसम्पत्ति र कुलघरानको धाक र रवाफ देखाउन नहुने,
    • मानिसको सोच र व्यवहार सकारात्मक हुनुपर्ने,
    • परिवारमा शान्ति, समृद्धि र समुन्नतिका लागि पारिवारिक मेलमिलाप, सद्भाव, असल व्यवहार आवश्यक हुने ।

तपाईंका विचारमा रामु के छुट्टिएर बस्नु आवश्यक थियो ? तार्किक उत्तर दिनुहोस् ।

सामाजिक यथार्थवादी कथाकार गुरुप्रसाद मैनाली (वि.सं. १९५७ - २०२८) द्वारा रचित प्रत्यागमन कथाका मुख्य पात्र रामु हुन् । एक वर्ष नपुग्दै बुवा र डेढ वर्ष नपुग्दै आमाको मृत्यु भएकाले उनको लालनपालन, हेरविचार, शिक्षादीक्षाको जिम्मेवारी निर्मल र शोभाले पूरा गरे । शोभाबाट रामुले प्रशस्त मातृत्व सुख पाएका थिए । एउटा सामान्य परिवारमा जन्मिएर एमएस्सीसम्मको अध्ययन गरेका रामु वैवाहिक सम्बन्धमा गासिएको केही समयपछि एकाएक परिवर्तन भए । दाजुभाउजू दुवैसंग प्रेम, आदर र विनयले बोल्न छाडे । श्रीमतीका काका पछाडि लागेर अन्तत: रामुले देवताजस्ता दाजु र जननीजस्ती भाउजूकै अगाडि छुट्टिएर बेग्लै बस्ने विचार व्यक्त गरे । नभन्दै एक महिना पछि नै दाजुसंग छुट्टिएर आफ्ना ससुराको जुद्ध सडकको घरमा बस्न थाले । प्रत्यागमन कथामा वर्णित यी घटना शृङ्खलालाई आधार मान्ने हो भने मेरो विचारमा रामु छुट्टिएर बस्नु आवश्यक थिएन । रामुलाई छुट्टिनुपर्ने वाध्यात्मक अवस्थामा न त दाजुले, न त भाउजूले नै पुऱ्याएका थिए । अझ रामु छुट्टिएपछि हरि र वसुधा ओइलाएका फूलजस्ता कान्तिहीन देखिन् र निर्मलका घरमा फेरि दु:खको पुनरागमन हनुले रामको सगोलको बसाइ नै आवश्यक थियो भन्ने कुरा नै पुष्टि गरेको छ । रामुले छट्टिएपछि जुन शारीरिक र मानसिक कष्ट र पीडा खेप्नुपर्यो, यसले पनि छुट्टिएर बसाएको नयाँ गृहस्थी असफल भएको सङ्केत गर्दछ।

अत: यस कथाका पात्र राम, दाजु निर्मलसंग छट्टिएर बसेपछि पारिवारिक एकता र सन्तुष्टि कहिले भएन । उनको जीवनमा श्रीमतीका वचन र व्यवहार घर बिगार्ने र भाड्ने माध्यम मात्र बने । मेरा विचारमा देवताजस्ता दाजुभाउजूले मान, सम्मान, इज्जत र सेवा गर्दागर्दै जोरीपारीलाई हसाउने गरी श्रीमतीको मात्र एकोहोरो कुरा सुनेर रामु छुट्टिएर बस्नु आवश्यक थिएन।

परमेश्वर, म कृतघ्न हुँ । मेरो पौरखलाई धिक्कार छ ! सप्रसङ्ग व्याख्या गर्नुहोस्।

परमेश्वर ................. धिक्कार छ ।
माथि दिइएको भावपूर्ण र गहन अभिव्यक्ति कक्षा दसको नेपाली पाठ्यपुस्तकअन्तर्गत रहेको 'प्रत्यागमन' कथाबाट साभार गरिएको हो । यस कथाका रचयिता सामाजिक यथार्थवादी कथाकार गुरुप्रसाद मैनाली (वि.सं. १९५७ - २०२८) हुन् । छुट्टिएर अलग भएको रामु दाजुको घरमा पुनरागमन भएपछि आफ्नो अनुपस्थितिमा घरपरिवारको अवस्था नाजुक बनेको निष्कर्षका साथ मनमनै पछुतो मान्ने कममा रामले उक्त अंश भनेका हन । माथिको गद्यांशले आफ्नै पौरखलाई धिक्कार्ने गरी पछुतो मानेको भाव व्यक्त गरेको छ।

कृतघ्न भनेको कसैले गरेको उपकार नदेख्ने वा नमान्ने बैगुनी प्रवृत्ति हो । यस्ता अवगुण भएका मानवले व्यक्तिगत स्वार्थ त्यागेर अरूको भलाइ चिताउन सक्दैनन् । यस कथामा पनि आफू कृतघ्न भएकै कारण घरपरिवारमा विग्रह आएको निष्कर्षमा रामु पुगेका छन् । रामुले आफूलाई हुर्काउने, माया दिने, पढाउने देवताजस्ता दाजुभाउजूलाई छाडेर नयाँ गृहस्थी बसाए तर सफल भएनन् । उनलाई बिस्तारी कर्तव्यच्युत भएको महसुस भयो । अन्य साहारा नभएपछि मान्छेले ईश्वरको साहारा लिन्छ, रामुले पनि ईश्वरलाई पुकार्न थाले । दाजुभाउजूप्रति कृतघ्न नभएको भए उहाँहरूको अवस्था यस्तो दयनीय र टिठलाग्दो हुने थिएन भन्दै रामुले आफ्नै पौरखलाई धिक्कारे।

अन्ततः रामुले गल्ती महसुस गरी सच्याउने महानता देखाएका छन् । यस कथामा परमेश्वर, कृतघ्न, धिक्कारजस्ता तत्सम शब्दको प्रयोग गरी कर्तव्यबोध गर्नुपर्ने भाव प्रस्तुत गरिएको छ । त्यसैले हामीले पनि आफ्नो पौरखलाई नै धिक्कार्ने गरी कुनै गलत काम गर्नुहुँदैन ।

'प्रत्यागमन' कथामा कथाकारले नेपाली समाजमा के कस्ता वास्तविकतालाई देखाउन खोजेका छन्, विवेचना गर्नुहोस् ।

कक्षा दसको पाठ्यपुस्तकभित्र समाविष्ट 'प्रत्यागमन' कथाका रचनाकार गुरुप्रसाद मैनाली (वि.सं. १९५७ - २०२८) आधुनिक कथाका प्रणेता तथा नेपाली कथाको सामाजिक यथार्थवादी धाराका अग्रज कथाकार हुन् । शैलीमा नेपालीपन, विचारमा सुधारको लक्ष्य, चित्रणमा रमाइलो कलात्मकता, लेखनीमा आदर्शको प्रतिपादन र सरलता उनका कथाका विशेषता हुन् । उनको प्रकाशित कृति 'नासो कथासङ्ग्रह' (२०२०) भित्र सङ्ग्रहीत 'प्रत्यागमन' कथा सामाजिक विषयवस्तुमा आधारित प्रसिद्ध कथा हो । यस कथाले नेपाली समाजको वास्तविकतालाई जीवन्त रूपमा उतारेको छ । कथाका पात्र निर्मल र शोभा आदर्श चरित्रका विशिष्ट उदाहरण हुन् । नेपाली समाजको पारिवारिक स्थिति, मूल्य, मान्यता, रीति, परम्परा, आदर्श आदिलाई यस कथाले यथार्थ रूपमा प्रस्तुत गरी नैतिक सन्देशसमेत दिएको छ।

परिवारमा मिलेर बस्नु नेपाली समाजको ठूलो आदर्श हो । समाजको यो वास्तविकतालाई कथाको प्रारम्भिक घटना शृङ्खलादेखि नै जोड दिइएको छ। सौतेनी छोरो भए पनि मातृत्व स्नेह दिएर हुर्काउन सक्ने हृदय शोभाको छ । नारीहरू उदार हृदयका हुन्छन् भन्ने वास्तविकता यहाँ देख्न पाइन्छ । आदर्श व्यक्तिको चरित्र र जीवन व्यवहारबाट नै आदर्श समाजको जन्म हुन्छ भन्ने प्रेरणाका स्रोत यस कथाका पात्र निर्मल र शोभा हुन् । डेढ वर्षको टुहुरो रामुको सम्पूर्ण जिम्मा लिएर आजीवन उसको भलाइ शोभा र निर्मलले चाहेका छन् । नेपाली समाजमा पढेलेखेका मानिसलाई सम्मान गर्ने परम्परा छ । पढेलेखेका शिक्षित र जागिरेलाई हेर्ने दृष्टिकोण नेपाली समाजमा सकारात्मक रहेको छ । आर्थिक रूपमा सम्पन्न हुँदै गएपछि घरमा नोकर राख्ने चलन छ। हाम्रो समाजमा निर्मल र शोभाजस्ता आदर्श चरित्रका व्यक्ति पनि भेटिन्छन् । शोभाले रामको जिद्दीपनका अगाडि झुक्नु, रामुलाई मातृत्व प्रदान गर्नु समाजका वास्तविकता उजागर गर्ने दृष्टान्तहरू हुन् । महिनाको साठी रुपियाँ खाने भाषा पाठशालाको एउटा मामुली अध्यापक भएर निर्मलले आफ्नो अनुपम त्याग र तपस्याद्वारा सौतेनी भाइलाई उच्च शिक्षा दिलाउनु अर्को सामाजिक वास्तविकताको उजागर गर्नु हो । यसरी यस कथाका घटना शृङ्खलाले समाजका वास्तविकता प्रस्तुत गरेका छन्।

नेपाली समाज पारिवारिक मेलमिलाप र असल व्यवहारको अपेक्षा गर्दछ । तथापि परिवारभित्र सोच र चिन्तनमा फरक देखिंदा विवाद र कलह स्वतः जन्मिने कुरालाई नकार्न पनि सकिदैन । यस कथाले नेपाली समाजका समस्यालाई उजागर पनि गरेको छ । बिहे गर्दा कुल घरानकी केटी हेर्ने, इज्जतको ख्याल गर्ने परम्परा पनि नेपाली समाजमा विद्यमान छ । बिहे गर्दा दुलाहा र दुलही पक्षकाले सतर्कता अपनाउने, बिहेलाई सांस्कृतिक उत्सवका रूपमा लिने, भोजभतेर गर्ने, धनी घरकी छोरी मान्छेले माइतीको धनसम्पत्तिको धाक रवाफ देखाउने, छोराछोरीको पास्नी गर्दा आफन्त र इष्टमित्रलाई बोलाउने परम्परा र चलन समाजमा छदै छ।

यस कथामा राम र उसको परिवारबीचको ठाकठुक देखाएर विवाहपश्चात् घरका आइमाईका कारणले दाजु र भाइको पनि झगडा हुने गरेको वास्तविकता देखाइएको छ । शोभाले दुलही बज्यै र देवरको क्रियाकलापप्रति कुनै टिप्पणी नगरी सेवा गरिन् । कोठाको सरसफाइदेखि लुगा धुने, बच्चाको हेरचाह गर्ने, बिरामी देवरलाई सेवा गर्ने र अन्त्यमा आफ्नै घर ल्याउने सम्मको काम गरिन् । यसरी आफ्नो कर्तव्य पूरा गर्ने नेपाली समाजको वास्तविकता अत्यन्त मार्मिक रूपमा कथामा प्रस्तुत गरिएको छ।

परिवारमा शान्ति, समृद्धि र समुन्नतिका लागि पारिवारिक मेलमिलाप, सद्भाव र असल व्यवहार आवश्यक छ भन्ने देखाउन नै प्रत्यागमन कथाको उद्देश्य हो । यस कथाले नेपाली समाजका वास्तविकतालाई जीवन्त र प्रभावकारी ढङ्गमा उद्घाटन गरेको पाइन्छ । नेपाली समाजको रीतिस्थिति बारे लेखिएको प्रत्यागमन कथामा झर्रो नेपाली भाषाको कलात्मक प्रयोग गरिएको छ । अतः हामीले पनि नेपाली समाजको चरित्रलाई बुझेर सधैं सकारात्मक सोच र आदर्श व्यवहार अपनाउनुपर्छ ।