जन्मभूमि

महत्त्वपूर्ण बुँदा

  • रामायणको कथाको एक अंशबाट निकालिएको पौराणिक कथामा आधारित कथा,
  • जन्मभूमि र जननीको गुणगान र महत्त्वलाई प्रमुख प्राथमिकता दिइएको कथा,
  • जननी जन्मभूमिश्च स्वोर्गदपि गरियसी अर्थात् आमा र मातृभूमी स्वोर्गभंदा पनि उच्च महत्वका हुनु, असल मान्छेले कहिल्यै आफ्नो जन्मभूमिलाई बिर्सन नहुनु,
  • आफू जन्मेको भूमि अविकासित र कुरुप नै भएपनि आफ्नो पहिचान दिलाउने भएकाले प्राण भन्दा पनि प्यारो हुन्छ र देशलाई शिरमा सजाउनुपर्छ भन्ने भावना बोकेको कथा,
  • समृद्ध, शान्त र सम्पन्न भएपनि मातृभूमिप्रतिको श्रद्धा र जन्मभूमिप्रतिको आकाट्य माया लंका भन्दा समृद्ध हुन सक्दैन भन्ने आदर्श पात्र रामलाई चरित्रवान् पात्रका रुपमा लिईएको कथा,
  • जननी र जन्मभूमिमा पाइने माया र सुखलाई लात हानेर हिड्ने व्यक्ति जीवनभर असल र सुखी हुन सक्दैन भन्ने भाव व्यक्त भएको,
  • सुख, सुविधा र अवसर खोज्नु मानवीय चरित्र भएपनि अवसरको खोजी पश्चात मातृभूमिलाई माया नमारी जन्मभूमि प्रतिको जिम्मेवारी र कर्तव्य सदैव पुरा गर्नुपर्छ भन्ने भाव व्यक्त गरेको,

अभ्यास

तलका शब्दहरुलाई वाक्यमा प्रयोग गर्नुहोस्:

  • स्मृति: आफ्नै बाल्यकालको स्मृतिमा कविता लेख्न मन छ ।
  • आग्रह: लक्ष्मणले रामलाई सुनै सुनले बनेको लंकाको राजा हुन आग्रह गरे ।
  • योग्य: यस पटकको स्थानीय निर्वाचनमा योग्य व्यक्तिहरुले मात्र अवसर पाए ।
  • कलङ्क: हामी हाम्रो देशको कलङ्क बन्नु हुदैन।

तलका प्रश्नको छोटो उत्तर लेख्नुहोस्:

  • लक्ष्मणको विचारमा रावणको दुर्दशा हुनुको कारण के हो ?
  • रावण लंकाको एक शक्तिशाली राजा थियो । लंकाको विकास पनि राम्रैसँग गरेको थियो । ऊ युद्ध कलामा पनि पोख्त थियो । सबै कुराले परिपूर्ण हुँदाहुँदै पनि रावणमा अहंकार थियो । ऊ घमण्डले ग्रसित थियो । आफूभन्दा ठुलो र शक्तिशाली कोहि छैन भन्ने उसलाई अहंकार थियो । आफ्नो राज्य जति बैभबशाली अरुको राज्य छैन भन्ने घमण्ड थियो । उ घमण्डी र भोक विलासी थियो । सीता जस्ती आदर्श पतिब्रता नारीलाई उसले अपहरण गर्यो । बिभीषण जस्ता चरित्रवान् व्यक्तिले सीतालाई आदार सम्मानका साथ फिर्ता पठाउनुपर्छ भन्ने सल्लाहलाई लत्यायो । उसले यस्ता कुरालाई पटक्कै वास्ता गरेन । बरु चरित्रहीन भएर कामुकताको पछि लग्यो । सीतालाई हरण गर्नु, हरण गरिसकेपछि पनि सम्मानका साथ पश्चाताप गर्दै फिर्ता नगर्नु उसको महान भूल थियो । फल स्वरूप वनवासी राम र रावणका बिचमा घमासान युद्ध भयो । युद्धमा रामको विजय भयो । यसरी अहंकार, घमण्ड र चरित्रहीनताकै कारणले रावणको दुर्दशा हुन पुग्यो ।
  • विभीषणका विचारमा रामले किन अयोध्या नगई लंकामै राज गर्नु उपयुक्त थियो?
  • युद्धमा रावण राज्यको अन्त्य भयो । राजा हुनका लागि पराइलाई गुहारेर आफ्नै दाजु, भतिजा र आफन्तहरु मारेको भन्ने कलङ्क लाग्न सक्ने भएकाले विभीषण आफू राजा हुन नचाहेको र रामको सहयोगी भएर बस्ने आशय व्यक्त गरे । राज्य जित्नेको हुन्छ, हार्नेको होइन । यो राज्य तपाइँहरुको बहुबलले जितेको हो । तसर्थ तपाइँहरुले नै चलाउनुहोस् भन्ने आशय उनले व्यक्त गरे । अयोध्यामा भरतले राज्य समालिरहेकाले आफूले जितेको राज्यको राजा हुनु रामचन्द्रका लागि स्वाभाविक हुन्छ । विजेताहरूका हिसाबले र न्याय तथा परिस्थितिका हिसाबले पनि रामले अयोध्या नगई लङ्कामै राज गर्नु उपयुक्त थियो ।
  • लङ्का सहर कस्तो थियो ?
  • लङ्का सहर समुन्द्रको किनारमा थियो । लङ्का जस्तो सुन्दर, समृद्ध र शान्त राज्य त्यसबेला कही थिएन । लङ्का सहर सुनैसुनले बनेको थियो । घरहरू सूर्यको किरण पर्दा टलक्क टल्कन्थे । लङ्का सहर साँच्चिकै सुन्दर र अनुपम थियो । रावण स्वयम् वैज्ञानिक र मिहिनेती समेत भएकाले त्यस सहरलाई सुन्दर र समृद्ध बनाएको थियो ।
  • के कारणले रावणको हार भएको हो ?
  • रावण अहंकर र घमण्डले गर्दा ऊ विवेकहीन र भोकविलासमा लिप्त थियो । नैतिकता अनैतिकताको कुनै ख्याल थिएन । आफ्नो मनमा जे लाग्यो त्येही उसको निर्णय हुन्थ्यो । भोकविलासमा लिप्त रावणले एक दिन सत्य धर्म, सदाचारिता र निष्ठामा समर्पित पति ब्रता नारी सीतालाई अपहरण गरी लंकामा लग्यो । यसैकारणले रावण र उसको भाई बिभिषणका बिच मतभेद पैदा भयो । सीता जस्ती आदर्श नारीलाई स-सम्मान फिर्ता गरिदिनुपर्छ भन्ने बिभिषणको सल्लाहलाई उसले उचित ठानेन । यसै निहुमा वनवासको समय व्यतित गर्न जंगलमा बसेका राम र रावणका बिचमा भिषण युद्ध भयो । अन्यायलाई पछ्याउने व्यक्ति जतिसुकै शक्तिशाली र सैन्यबलले सुसज्जित भएपनि आन्तरिक मनोबलमा कमजोर हुन्छ । चरित्रहीन, अहंकार र घमण्डले पूर्ण भएको व्यक्ति युद्धको मैदानमा टिक्न सक्दैन । परिणाम त्यस्तै भयो । युद्धमा रावणको पराजय भयो । तसर्थ रावणको हार भयो ।
  • रामराज्यको अर्थ के हो ?
  • रामराज्यको अर्थ असल राज्यव्यवस्था हो । लङ्का विजय पश्चात् राम, लक्ष्मण र सीता अयोध्या फर्केर राम अयोध्याको राजा भएपछि उनले सदैव जनताको निर्णयलाई आत्मासाथ गरे । उनले शासन गर्दा असल र आदर्श शासनको परिचय दिए । उनको शासन व्यवस्था अरूका लागि अनुकरणीय बन्यो । अर्थात् जनताको भावनाअनुसार शासन गर्दै जनतालाई सुख, शान्ति र समृद्धिको बाटोमा डोर्‍याउने काम रामले आफ्नो शासन कालमा गरे । उनको शासन काल जनताले चाहेको जस्तै थियो । त्यसैले रामराज्यको अर्थ रामले शासन गरेको जस्तो असल राज्यव्यवस्था हो ।
  • रामले लंकाको राजा हुन किन अस्वीकार गरेका हुन?
  • आफ्नो बहुबलले जितेको राज्य आफ्ना अधिकारभित्र परे तापनि विभीषणद्वारा प्रस्ताव गरिएको भए तापनि रामचन्द्रले लंकाको राजा हुन अस्वीकार गरे । उनले लक्ष्मणलाई सम्झाउँदै भने "अपि स्वोर्णमयी लंका न मे लक्ष्मण रोचते, जननी जन्मभूमिश्च स्वोर्गदपि गरियसी" अर्थात् आमा र मातृभूमी स्वोर्गभन्दा पनि उच्च महत्त्वका हुन्छन् । असल मान्छेले आफ्नो जन्मभूमिलाई बिर्सनु हुँदैन । लंका जतिसुकै वैभवशाली भए पनि अयोध्या जति प्यारो हुन सक्दैन । तसर्थ अयोध्या फर्केर आफ्नो जन्मभूमिलाई स्याहार्दै सिँगार्नुपर्ने तथ्य रामले लक्ष्मणलाई बताए ।

सुन्दर र सम्पन्न लंकाको राजकाज छोडेर किन राम अयोध्या फर्किए ? विवेचना गर्नुहोस् ।

प्रस्तुत प्रसङ्ग डा. सुधा त्रिपाठी लगायतका लेखकहरुको सम्पादनमा सम्पादित जन्मभूमि कथामा आधारित छ । यस कथामा रामको अयोध्या राज्यप्रतिको प्रेमका माध्यमबाट जन्मभूमिको महत्त्वलाई दर्शाइएको छ । यस कथामा वनवासी रामले आफ्नो नेतृत्वमा लडाइ गरी घमण्डले युक्त लंकाका राजा रावणलाई परास्त गरि आफ्नो अधिनमा आएको लंका राज्यको राजा हुन अस्विकार गरि आफ्नै जन्मभूमिलाई रोजेर राम अयोध्यातिर फर्केको प्रसङ्गलाई रोचकताका साथ प्रस्तुत गरिएको छ ।

भोगविलासमा लिप्त रावणले एक दिन सत्य, धर्म, सदाचारिता र निष्ठामा समर्पित पति ब्रता नारी सीतालाई अपहरण गरी लंकामा लग्यो । यसैकारणले रावण र उसको भाई बिभिषणका बिच मतभेद पैदा भयो । सीता जस्ती आदर्श नारीलाई ससम्मान फिर्ता गरिदिनुपर्छ भन्ने बिभिषणको सल्लाहलाई उसले उचित ठानेन । यसै निहुमा वनवासको समय व्यतित गर्न जंगलमा बसेका राम र रावणका बिचमा भिषण युद्ध भयो । युद्धमा रावणको पराजय भयो । राजा हुनका लागी पराइलाई गुहारेर आफ्नै दाजु, भतिजा र आफन्तहरु मारेको भन्ने कलङ्क लाग्न सक्ने भएकाले विभीषणआफू राजा हुन नचाहेको बरु रामको सहयोगी भएर बस्ने आशय व्यक्त गरे । रामचन्द्रले एकछिन सोचेर गम्बिर हुँदै जवाफ दिए अर्को राज्यलाई पराजय गरेर आफ्नो अधिनस्थ बनाई राजगरेर बस्नु अनौठो कुरा होइन, त्यो स्वभाविक हो । तर आफू लंका राज्य संचालनमा नबस्ने कुरा रामचन्द्रले बताए किनभने उनको विचारमा सुखैसुखको नाम स्वर्ग हो र त्यसको स्वर्गीय आनन्द सुन्दर, समृद्ध लंका राज्यमा पाउन सकिने पर्याप्त सम्भावना रहे पनि संसारमा त्यस्तो स्वर्गभन्दा पनि उत्तम ठाउँ भनेको जन्मभूमि हो । जननी र जन्मभूमि स्वर्गभन्दा महान् हुन् । त्यसैले जन्मभूमिलाई चटक्कै भुल्नु र लत्याउनु राम्रो होइन । सुख सुविधाका पछि लागेर जन्मभूमिलाई लात हान्नेहरु असल मान्छे हुन सक्दैनन् । त्येसैले लंकामा जतिसुकै बैभव भए पनि र आफुले जितेर पाएको भए पनि मेरा लागि अयोध्याभन्दा प्यारो हुन सक्दैन भन्दै देशभक्ति र मातृभक्तिप्रतिको असीम श्रद्धा रामले प्रकट गरे ।

"जननी जन्मभूमिश्च स्वर्गदपि गरियसी ।" अर्थात् जननी र जन्मभूमि स्वर्ग भन्दा पनि उच्च र गरिमामय हुन्छन् । आफ्नो जन्मभूमिलाई चटक्कै बिर्सिएर सुख सयलको पछि नलागिकिन मातृभूमिमा टासिएर बसिरहनुपर्छ भन्ने पनि होइन तर सुखसुबिधाका निमित्त आफ्नो मातृभूमिलाई लात हान्ने मान्छे असल हुन सक्दैन । राम एक देशभक्त व्यक्ति भएकाले उनलाई लङ्काको वैभव, सुख तथा ऐश्वर्यले कत्ति पनि आकर्षण गर्न सकेन । उनमा आफ्नो जन्मभूमिप्रति असीम आस्था र श्रद्धा थियो । त्यसैले हामी अयोध्या फर्किएर आयोध्यालाई स्याहार्नु पर्ने र सिगार्नु पर्ने कुरा रामचन्द्रले बताए ।

यो युद्ध तिमीले जित्यौ किनकि तिम्रा भाई लक्ष्मण तिम्रो पक्षमा थिए । सप्रसङ्ग व्याख्या गर्नुहोस् ।

यो युद्ध .............. तिम्रो पक्षमा थिए ।

माथि दिइएको विशिष्ट एवम् भावपूर्ण गद्यांश कक्षा दसको नेपाली किताबको 'जन्मभूमि' भन्ने पौराणिक कथाबाट साभार गरिएको हो । रामायणमा राम र रावणबीच भएको युद्धको घटनालाई सम्पादकद्वारा यस कथामा प्रस्तुत गरिएको छ। रामायणमा अयोध्याका राजा राम र लङ्काका राजा रावण बीच युद्ध भएको घटनालाई यस कथामा विषयवस्तु बनाइएको छ। प्रस्तुत भनाइ राम र रावणको युद्धमा रामले रावणलाई पराजय गरिसकेपछि रावणले मर्ने बेलामा रामसँग भनेका भनाइहरू हुन् । आफ्नो हार हुनुको प्रमुख कारण आफ्नो भाइ विभीषण आफ्नो पक्षमा नभएको कुरा महसुस गरी रामलाई भाइ लक्ष्मण तिम्रो पक्षमा रहेकाले युद्ध तिमीले जितेको भन्ने प्रसङ्गमा रावणका मुखबाट प्रस्तुत भएका यी भनाइले भाइभाइमा हुनुपर्ने प्रेमलाई देखाइएको छ।

अहङ्कारले मानिसलाई समाप्त गर्छ भन्ने कुरालाई रावणको चरित्रबाट प्रस्तुत गरिएको छ । रावण त्यस समयका वीर तथा वैज्ञानिक देखिन्छन् । उनले आफ्नो देशको अत्याधिक विकास पनि गरेका छन् तर उनमा मभन्दा ठूलो यो संसारमा कोही छैन भन्ने घमण्ड थियो। उनमा लोभ-लालच बढ्नुका साथै रामकी श्रीमती सीतालाई अपहरण गर्ने अहंकार बढ्यो । सीतालाई अपहरण गरेर तपाईंले गल्ती गर्नुभयो अब उहाँसँग माफी माग्नुहोस र सीताजी फिर्ता गर्नुहोस् भनी विभीषणले रावणलाई भन्दा रावणले विभीषणलाई कुलद्रोही भन्ने आरोप लगाए । आखिर राम र रावणबीच युद्ध भयो। युद्धमा विभीषण न्यायको पक्षधर भएकाले आफ्नो दाइ रावणको पक्ष लिएनन । युद्धमा रावणले हारे । आफ्नो हार भाइ विभीषणले साथ नदिएकाले हार भएको कुरा रावणले महसुस गरे । आफू मर्ने बेलामा रामलाई तिम्रो भाइ तिम्रो पक्षमा हुनाले तिमीले युद्ध जित्यौ भनेका हुन् ।

निष्कर्षमा, भाइ फुटे गवार लुटे भनेझैँ दाजूभाइ बिचनै मेलमिलाप भएन भने हामी सफल हुन सक्दैनौ भनेर यस गद्यांशले प्रस्तुत गर्न खोजेको छ । भाइभाइमा भ्रातृत्व, प्रेम हुनुपर्ने कुरालाई प्रमुखताका साथ उठाएको यस भनाइमा सफलता प्राप्त गर्नका लागि भाइभाइबीच सहयोग आवश्यकता पर्छ। दाजु भाइको मिलनबाट सुख, शान्ति र विजय प्राप्त हुन्छ। परिवारमा बेमेल भयो भने बाहिर विजय हुन सक्दैन । जति सम्पन्न र शक्तिशाली भए पनि आफन्तको सहयोगविना केही गर्न सकिँदैन भन्ने कुरा भनाइबाट प्रष्ट हुन्छ।

मेरो विचारमा जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान् छन् । सप्रसङ्ग व्याख्या गर्नुहोस् ।

मेरो विचारमा .............. पनि महान् छन् ।

प्रस्तुत भनाइ कक्षा दसको नेपाली पाठ्यपुस्तकको 'जन्मभूमि' नामक पौराणिक कथाबाट साभार गरिएको हो । यस राम र रावणबीच भएको युद्धको घटनालाई प्रस्तुत गरिएको छ। रामायणमा अयोध्याका राजा राम र लङ्काका राजा रावणबीच भएको युद्धको घटनालाई विषयवस्तु बनाइएको छ। लङ्का सुन्दर र सम्पन्न छ । प्रस्तुत भनाइमा राम र रावणको युद्ध पछिको घटनासँग सम्बन्धित छ। रामले रावणलाई पराजय गरिसकेपछि लक्ष्मणले रामलाई लंकाको राजा बन्न आग्रह गर्दा आफ्नो माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुने भएकाले लङ्काको राजा बन्न नचाहेको प्रसंगमा रामका मुखबाट प्रस्तुत भएका भनाइहरू हुन् ।

आफू जन्मेको ठाउँ स्वर्गभन्दा पनि उत्तम हुन्छ। जन्मभूमि प्राणभन्दा पनि प्यारो हुन्छ भन्ने आदर्शलाई रामचन्द्रका माध्यमबाट प्रस्तुत गरिएको 'जन्मभूमि' कथा पौराणिक घटनामा आधारित कथा हो । यस कथामा लङ्काका राजा रावण र अयोध्याका राजा रामका बीचमा भएको युद्वमा रामको जित र रावणको हार देखाइएको छ। लङ्काको जित पछि सुन्दर लङ्कामा नै राजा भएर बस्नका लागि लक्ष्मणले गरेको आग्रहपछि लङ्का जस्तो सुन्दर, समृद्ध र शान्त राज्य अहिलेको दुनियाँमा नै नभएको र आफ्नो बलबुताबाट जितेको राज्य आफ्नो अधीनमा बनाउनु र त्यहाँ राज्य गरेर बस्नु दुनियाँमा नौलो र अनौठो कुरा नभए पनि रामले जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुने कुरा गर्दै सुन्दर र सम्पन्न लङ्काको राजकाज छोडेर अयोध्या गएको घटना कथामा प्रस्तुत गरिएको छ । लङ्का सुन्दर छ, क्षितिजबाट समुद्रको पानीमाथि सूर्य टुप्लुक्क पर्दा सूर्यको लाली किरणले समुद्रकै पानीमा इन्द्रेणी देखिन्छ। यस्तो सुन्दर दृष्यमा समुद्रका जनावरहरू चुल्बुलाउन थाल्छन् । सुनैसुनले बनेको लङ्काका घरहरू सूर्यको किरणले टल्कन थाल्छन्, लङ्का सुन्दर छ, सम्पन्न छ, समृद्ध छ, शान्त पनि छ तर मातृभूमिप्रतिको श्रद्धा र जन्मभूमिप्रतिको अकाट्य मायाभन्दा लङ्का समृद्ध हुन सक्दैन भन्ने भाव राममा छ, जसको कारण उनी लङ्काको राजा हुन चाहँदैनन् । उनी आफ्नै मातृभूमि अयोध्या जान चाहन्छन् र भाइलाई भन्छन् “लक्ष्मण तिमीले स्वर्गको बयान सुनेका हौला शास्त्रहरूमा वर्णन भएअनुसार सुखै सुखको नाम नै स्वर्ग हो । त्यसैले मानिसहरू मरेपछि स्वर्ग जान चाहन्छन् । भाइ लक्ष्मण, संसारमा त्यस्तो स्वर्गभन्दा पनि उत्तम ठाउँ भनेको जन्मभूमि हो । मेरो विचारमा जननी र जन्मभमि स्वर्गभन्दा पनि महान् छन्।” जुन धर्तीमा मानिस जन्म्यो, हुर्क्यो, ताते गर्दै तोते बोली बोल्न सिक्यो, त्यसले आफ्नो जन्मभूमि कहिल्यै बिर्सन सक्दैन । विदेशमा गएर जतिसुकै वैभवपूर्ण जीवन बिताउन पाए पनि आफ्नो जन्मभूमिको मायाले मानिसलाई सताइरहन्छ । त्यसैले जन्म दिने आमा र जन्मभूमि हरेक मानिसका लागि प्यारो र महान् हुन्छन् ।

संसारमा स्वर्गभन्दा पनि उत्तम ठाउँ भनेको जन्मभूमि हो । जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्, सुख र सुविधापछि लागेर जन्मभूमिलाई लात हान्नेहरू असल मान्छे हुन सक्दैनन् भन्दै माता र जन्मभमिप्रतिको श्रद्धा प्रस्तुत भनाइहरूमा छताछुल्ल भएका छन् ।