वर्षा

कवि र कविताको परिचय

  • लक्ष्मीप्रसाद देवकोटा (१९६६ - २०१६),
  • स्वछन्दतावादी कवि,
  • महाकवि, प्रकितिप्रेमी, राष्ट्रप्रेमी तथा मानवतावादी कवि,
  • आत्मपरक निबन्धकार,
  • 'मभनततगुगु', मन्दाक्रान्ता छन्दमा लेखिएको कविता

अर्थबोध

देवकोटा स्वच्छन्दतावादी काव्यधाराका कवि हुन् ।उनले यस कवितामा वर्षा ऋतुको हार्दिकताका साथ वर्णन गरेका छन् । प्रचण्ड गर्मीको मौसमपछि आउने वर्षा ऋतुले पशुपन्छी ,वनस्पति र मानिसवाट आत्मीय स्वागत पाएको हुन्छ । वर्षाले प्राणी र वनस्पतिमा नयाँ जीवनको सञ्चार गर्छ ।अनेक गर्जनका साथ वर्षा वायुपडी विमानमा चढेर आउँछिन् । वायुपङ्खी विमानका पाङ्ग्रा शिखरमा घर्षीदा आउने आवाजझैँ आकाश थर्किने गरी मेघ गर्जिन्छ । यसरी मेघ गर्जदा चम्किएको विजुलीले डाँडा पाखा उज्यालिन्छन्, आकाश गाढा निलो देखिन्छ ।वर्षाका कारणले पृथ्वी कलिलो भएकी हुन्छिन् । (१)

वर्षाले मेघरुपी पछयौरा फरफर पार्दै पृथ्वीतिर झार्छिन् । मोतीका दानाझैँ झर्ने पानीका थोपा लाखौंलाख लुङमा उनिएझै सुन्दर लाग्छन् ।आफ्नो पोल्टामा ल्याएको वर्षा रुपी बहुमूल्य सम्पत्ति पृथ्वीमा प्रशस्त पार्न नपाएसम्म चित्त बुझ्दैन ।यसरी सुन्दर देखिने मोतीका दानारुपी वर्षाको एउटा लुङ चुडिएर उच्च पहाडमा हिउँको रुपमा झरेर शैल नै झझराएको देखिन्छ। (२)

वर्षादेखि सवै पशुपन्छी प्राणी बनस्पति खुसी भएका हुन्छन् ।पानी पर्ने आशङ्काले भुरभुर उड्न लागेका पन्छीहरुलाई आफ्ना गुंडतिर फर्कन आग्रह गर्दछिन् ।मेघ गर्जनका कारणले गुँडमा वसेका बचेराहरु तर्सिनु नपरोस् भन्ने ध्येय वर्षाको रहेको छ। त्यस्तै कमिलाहरुलाई हतार हतार आफ्ना वासस्थानतिर पुग्नका लागि आदेश दिएकी हुन्छिन् । वर्षा पूर्व आकाशमा चील गीद्धहरु चकरिदै आकाशमा घुमिरहेका हुन सक्ने आशङ्काले तिनीहरुको सिकार हुन नपरोस् भनेर वर्षाले प्राणीहरुलाई सचेत बनाउँदै मातृभाव प्रकट गरेको पाइन्छ । (३)

वर्षाका कारणले धमिला खहरेखोला पनि शानका साथ अटुट गतिले बग्न थाल्छन् बोटविरुवाहरु पनि वर्षारुपी अमृत पाएर फस्टाउँछन् । सबै प्राणी वनस्पतिप्रति समान कारुण्य भाव राखेर वर्षा सक्रिय भएकी हुन्छिन् । अमृतरुपी वर्षा पाएर पृथवीले आनन्द लिइरहेको क्षणलाई कविले भावुकताका साथ प्रस्तुत गरेका छन् । (४)

वर्षा जीवनदायी शक्ति हो ।गृष्मको रापमा सुकेका बोटविरुवाहरु वर्षाका कारणले हराभरा हुन पाएका छन् । धानवालीले छापिएर पृथ्वी कलिली भएकी हुन्छिन् । चपला युवतीहरु भाका हाली हाली खेत रोप्दै गरेका बेला विजुलीको चमकले झन आकर्षण थपेको हुन्छ । किसानहरु बालीविरुवा राम्रो हुने आशाले काम गरिरहेका हुन्छन् । यस वेला समुद्र रुपी युवकको प्रकृतिसंगको प्रेमपूर्वकको क्रीडा अद्भुत रुपमा प्रकट भएको हुन्छ। (५)

वर्षाका कारणले हराभरा भएका बोटविरुवाहरुले मिठामिठा अमृत रसले भरिएका लाखौलाख विज्जुले भर्ने इच्छा राखेका हुन्छन् । वृक्षले फलका दानाहरु फलाउंछन् र फलका दानाहरु अरुलाई चाख्न लगाउने चाहना पनि राखेका हुन्छन् । शरद् ऋतु लागेपछि लचक्क लच्किने गरी दाना फलाउने इच्छा पनि वृक्षहरुले राखेका हुन्छन् । त्यसैगरी वृक्षहरुले खुसीले एकभई उठ्ने र आकाशबाट पीयूष धारा बर्सेको आनन्द लिने इच्छा पनि हुन्छ । (६)

देवकोटा वर्षाले पुऱ्याएको योगदानप्रति अत्यन्त भावुक बनेका छन् । उनले मानव वृक्ष,पशुपन्छी समपूर्ण प्राणीलाई वर्षावाट भरपुर फाइदा लिन र खुसीयाली मनाउन आग्रह गरेका छन्। कविले वनलाई समूह समूह बनाएर उठ्न ,जागृत हुन र वर्षाको सुमधुर गीत गाउन आग्रह गरेका छन् । वर्षामा वर्सिएका अमृतका घटा घटघट पिउन आग्रह समेत गरेका छन् । पृथ्वी पनि वर्षामा दरदर दर्किएका अमित कनिका पिउन लागेकी छिन् । रुख विरुवाका पातका हाँगामा ,पातमा परेका पानीका थोपालाई जराजरामा पुऱ्याउनका लागि वृक्षहरुलाई सक्रिय हुन पनि कविले आग्रह गरेका छन् । (७)

कविले यस वर्षा ऋतुलाई रस मिलनको ठुलो चाडका रुपमा लिएका छन् । यस समयमा रस (पानी) र धर्तीको मिलन हुन्छ ।धर्तीमा रहेका सम्पूर्ण वनस्पति,रुख विरुवा प्राणी आदिले जविनका लागि ऊर्जा प्राप्त गर्छन । किसानका मनमा खेतमा धान सपारेर मङ्सिरमा अन्न ऐश्वर्य ल्याउने ,यस धर्तीमाआफू बाँचेर अरुलाई पनि बचाउने कल्पनाको बाढी नै आउँछ ।आकाश गीत सङ्गीतमय भएको हुन्छ । धर्तीका सम्पूर्ण प्राणीहरु सुखरुपी समुद्रमा पौडी खेल्न पुग्छन् । रातै फुलेका असारे फूललाई आफ्नो साझा झन्डा सम्झेर सवै खुसीले रम्न पुग्छन् । यो बहुरङ्गी पुच्छर भएको मयूर रमाए जस्तै रमाएर सुखको समुद्रमा पौडी खेल्ने वेला हो । (८)

अभ्यास

सप्रसङ्ग व्याख्या गर्नुहोस्:

  • बाली राम्रो, तृण अति हरा, वर्ष राम्रो कबूली
    पारावार प्रभु हृदयको फुट्छ सङ्गीत केली
  • बाली राम्रो ............
    ............ सङ्गीत केली

    माथि दिइएका कविताका हरफहरु महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको वर्षा शीर्षकको कवितावाट झिकिएका हुन् । बहुमुखी प्रतिभाका धनी कवि देवकोटा स्वछन्दतावादी, प्रकृति प्रेमी, मानवतावादी कवि हुन् । यस कवितामा उनले भावुक हुँदै वर्षा ऋतुका समयमा मानिस र प्रकृतिमा आउने परिवर्तनलाई हार्दिकताका साथ प्रस्तुत गरेका छन् । वर्षा ऋतुका कारणले प्राणी , वनस्पति र मानवजातिले सुखको सपना देखेका हुन्छन् । प्रकृतिको सुन्दर क्रीडा यस समयमा देख्न सकिने कुरा कविले स्पष्ट पारेका छन् ।

    जेठ, असारको कडा घामले बोट विरुवाहरु सुकेका हुन्छन् । माटो सुख्खा भएको हुन्छ । वर्षा ऋतुको आगमन संगसंगै बोट विरुवा, पशुपन्छी र मानव जातिले जीवनको सञ्चार पाउछन् । प्रकृतिले आफ्नो रुप फेर्छ । आकाशवाट मेघ गर्जदै पानीका घाराहरु प्रवाह हुन थाल्छन्। रुख विरुवाहरुमा पनि परिवर्तन आउछ रुखभरि लटरम्म फलका दानाहरु लाग्न थाल्छन् । खेतवारीमा किसानहरु हर्ष र उमङ्गका साथ कृषिकार्यमा संलग्न हुन्छन् । प्रकृतिमा चारैतिर हरियाली नै हरियाली छाएको हुन्छ । किसानहरुले पनि अन्न बाली फल्ने फलका दानाहरुमा अमृत रस भरिने आशा लिइएका हुन्छन् । चारैतिर पाखा, पर्वत प्रकृतिमा घासपात, दुबो आदि पलाएर हरियाली देखिन्छ । वर्षा भएपछि यो वर्ष वालीनाली राम्रो होस् , सप्रियोस, सवै मानिसहरुले सुख पाउँन् भन्ने अपेक्षा किसान लगायतका मानव जातिले गरेका हुन्छन् । समुद्ररुपि युवकको यस ऋतुमा संगीतको प्रेम पूर्वक खेलको अपूर्व लीला नै देखिएको हुन्छ ।

    यसरी प्रकृति र मानव जातिमा परिवर्तन आएको हुन्छ। यसरी वर्षा ऋतुले ल्याएको हर्ष उमङ्ग र सुखको प्रप्तीलाई कविले हार्दिकताका साथ प्रस्ततु गरेका छन्। कवितामा प्रकृति र मानव जातिमा आउने परिवर्तनलाई हार्दिकताका साथ लिइएको क्षण सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । मन्दाक्रान्ता छन्दमा लेखिएको यस कवितामा तत्सम शब्दहरुको अत्याधिक प्रयोगले सिकारुहरुलाई कविताको अर्थ बुझ्न कठिन भएको प्रतीत हुन्छ । प्रशस्त उदाहरण र प्रतीकका सहायताले कवितालाई बुझन मदत पुगेको देखिन्छ।

  • यो बेला हो रस मिलनको प्राप्तिको चहाड
    यो गानाको गगन जनको कल्पनाको बहाड
  • यो बेला ...............
    .............. कल्पनाको बहाड

    प्रस्तुत कविताका पङ्क्तिहरु नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६ - २०१६)द्वारा लेखिएको वर्षा कविताबाट उद्धृत गरिएको हो । बहुमुखी प्रतिभाका धनि महाकवि देबकोटा प्रकृतिप्रेमी स्वोछन्दतावादी एवम् मानवतावादी कवि हुन् । कविताका यी पङ्क्तिहरुमा कविले वर्षा ऋतुलाई प्राणी र वनस्पतिहरुले रस प्राप्तिको चाडको रुपमा खुसीयालीको बाढीको रुपमा लिनुपर्ने तथ्य औंल्याएका छन् ।

    वर्षा ऋतु प्राणी र वनस्पतिका लागि महत्त्वपूर्ण समय हो । यस समयमा प्रशस्त पानी पर्ने हुँदा वैशाख जेठको चर्को घामले पृथ्वी सुख्खा भएकी हुन्छिन् । बोटविरुवाहरू पानी नपाएर ओइलाउन लागेका हुन्छन् । वर्षा ऋतुमा पर्ने पानी बोटविरुवाका लागि अमृतसमान हुन्छ । किसानहरू खेतबारीमा बाली लगाउन पउछन् । वर्षाका पानीले माटो पूरै भिजेको हुन्छ । बोटविरुवाले माटोमा रहेको पानीलाई जराको माध्यमवाट पर्याप्तरुपमा सोसेर लिन पाउछन् । त्यसैले कविले यसलाई माटोमा रहेको पौष्टिक तत्त्व बोटविरुवाले लिन पाउने भएकाले कविले यसलाई रस मिलनको उत्सव मानेका छन् ।

    पशुपन्छी बोटबिरुवा , किसानलगायत सम्पूर्ण मानवजातिका लागि वर्षाऋतु उत्साहप्रद उत्सव र चाडपर्वको मेला नै हो । मन्दाक्रान्ता छन्दमा लेखिएको यस कवितामा तत्सम शब्दहरूको अधिक प्रयोगले कविता बुझ्न कठिन जस्तो लागे तापनि उपयुक्त उदाहरण र प्रतीकका सहायताले कविता सरस र सुवोध्य हुन पुगेको छ ।