व्यापारिक चिठी

चिठीका प्रकार

  1. घरायसी चिठी: घरव्यवहार वा व्यक्तिगत चासोका विषयवस्तु समेटी आफ्ना मातापिता , साथीभाइ बन्धुवान्धव वा आफन्तलाई लेखिने चिठीलाई घरायसी चिठी भनिन्छ।
  2. व्यापारिक चिठी: व्यापारव्यवसायका उद्देश्यले लेखिने चिठीलाई व्यापारिक चिठी भनिन्छ । एउटा व्यापारीले अर्को व्यापारीलाई अथवा एक संस्थाले अर्को संस्थालाई मालसामान माग र आपूर्ति तथा लेनदेनका सम्बन्धमा यस किसिमको चिठी लेख्ने गरिन्छ।
  3. कार्यालयीय चिठी: कार्यालयीय प्रयोजनका लागि लेखिने चिठीलाई कार्यालयीय चिठी भनिनछ । यस्तो चिठी कुनै व्यक्तिले कुनै कार्यालय वा कार्यालयको प्रमुखलाई सम्बोधन गरी लेख्ने गरिन्छ । यो औपचारिक किसिमको चिठी हो । यस्तो चिठीलाई निवेदन पनि भनिन्छ।

व्यापारिक चिठी लेख्ने तरिका

  • सिरानमा सम्बन्धित संस्थाको नाम र ठेगाना लेख्ने ,
  • ठेगानाको केही मुनि दायाँतिरको कुनामा मिति लेख्ने,
  • ठेगानाभन्दा बायाँतिर कुनामा पत्र सं. र त्यसको मुनि च. नं. लेख्ने,
  • च. नं. भन्दा केहीमुनि दायाँतिर विषय लेख्ने ,
  • च. नं. को मुनि वायाँतिर सम्बन्धित संस्थाको प्रमुखलाई सम्बोधन गर्ने त्यसका मुनि महोदय लेख्ने,
  • त्यसपछि मुख्य विषयवस्तु उल्लेख गर्ने,
  • अन्त्यमा दायाँतिर कुनामा भवदीय वा शुभेच्छक लेख्ने

नमुना

लुम्बिनी पुस्तक पसल
बुटवल-८, रूपन्देही
लुम्बिनी अञ्चल, नेपाल

पत्र सं. ०४६/०७६
च. नं. २०६
मिति : २०५९/०४/११

विषय : पुस्तक उपलब्ध गराइदिने बारे।

श्रीमान् महाप्रबन्धक
साझा बिक्री कक्ष
भृकुटी मण्डप, काठमाडौं

महोदय,

उपर्युक्त सम्बन्धमा हाम्रो यस लुम्बिनी पुस्तक पसल, बुटवलले विगत लामो समयदेखि तपाईंको साझा बिक्री कक्षबाट पुस्तकहरू झिकाई बिक्री वितरण गर्दै आएको कुरा श्रीमान्लाई अवगत नै छ । अहिले आएर निम्नानुसारका साहित्यिक पुस्तकहरूको माग भएकाले शीघ्रातिशीघ्र उपलब्ध गराई दिनुहुन अनुरोध गरिन्छ:

क्र. स. पुस्तकको नाम लेखक प्रति
१. मुना मदन लक्ष्मीप्रसाद देवकोटा ३५०
२. जुँगा हृदयचन्द्रसिंह प्रधान १५०
३. अनिँदो पहाडसँगै पारिजात १५०
४. राधा कृष्ण धरावासी २५०
५. गौरी माधव घिमिरे ३५०
६. नयाँ घर आहुति १५०

उल्लिखित पुस्तकहरूको भुक्तानीका लागि त्यस बिक्री कक्षको नाममा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको खाता नं. ७७७७ मा पेस्की स्वरूप रु. २१,000 (अक्षरेपि एकाउन्न हजार रुपियाँ मात्र) जम्मा गरेको बैक भौचर यसै पत्रसाथ पठाइएको छ । बाँकी रकम पुस्तकहरूका साथै बिल प्राप्त हुनासाथ भुक्तानी गरिने व्यहोरा अनुरोध गरिन्छ ।

सहयोगको लागि धन्यवाद !

भवदीय
............
(प्रो. देवका अर्याल)

खामको नमुना
प्रेषक

देवका अर्याल
लुम्बिनी पुस्तक पसल
बुटवल-८, रूपन्देही
लुम्बिनी, नेपाल

प्रापक

श्रीमान् महाप्रबन्धक
साझा बिक्री कक्ष
भृकुटी मण्डप, काठमाडौं, नेपाल